एसपी यादव/सर्लाही, मंसिर १ गते । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीको कारबाहीबारे भ्रामक सूचना फैलाएर सर्वसाधारणमा भ्रम सिर्जना गरेको आरोपमा सर्लाही प्रहरीले मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, जिल्ला प्रहरी कार्यालयले पक्राउ नै नगरेका व्यक्तिलाई पक्राउ गरिएको भन्दै फेसबुकमार्फत गलत तथा भ्रामक सूचना प्रकाशन र प्रसारण गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा सर्लाहीको कविलासी नगरपालिका-७ निवासी २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका-८ गडहिया डुमरिया निवासी ३२ वर्षीय आलम बैठा रहेका छन् ।
डीएसपी गौतमका अनुसार, पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत प्रहरीको कारबाहीबारे भ्रामक सूचना सार्वजनिक गरेका थिए । उनीहरूले जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीबाट पक्राउ नै नगरिएका व्यक्तिलाई पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा सूचना फैलाएर आमसर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक अन्योल उत्पन्न गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले यस्ता गतिविधिले सार्वजनिक शान्ति, सुव्यवस्था, सामाजिक सद्भाव तथा नागरिकको सूचनाको हकमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र सचेत भएर सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । प्रहरीसँग सम्बन्धित कुनै पनि घटना, पक्राउ, अनुसन्धान तथा कारबाहीबारे आधिकारिक जानकारी प्राप्त नगरी अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचना प्रकाशन, प्रसारण, सेयर वा पुनःप्रसारण नगर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
त्यस्तै, प्रहरीसम्बन्धी सूचना तथा समाचारको आधिकारिकता पुष्टि गर्न जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी वा सम्बन्धित प्रहरी कार्यालयबाट आधिकारिक जानकारी लिएर मात्रै सूचना तथा समाचार सम्प्रेषण गर्न प्रहरीले आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा प्राप्त हुने प्रत्येक सूचनाको सत्यता पुष्टि नगरी विश्वास गर्ने र अरूलाई समेत सम्प्रेषण गर्ने प्रवृत्तिले समाजमा अनावश्यक भ्रम तथा अन्योल सिर्जना गर्न सक्ने भन्दै प्रहरीले सबैलाई सचेत रहन अपिल गरेको छ ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिएका छन् ।






