राजविराज, १९ मंसिर – जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएर संविधान संशोधन लगायत २८ बुँदे माग सरकारसम्म पु¥याएको छ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पार्टीका केन्द्र, जिल्ला र स्थानीय तहका नेताकार्यकर्ताले धर्नामा सहभागी भएका थिए। यसअघि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई मागसहितको ज्ञापनपत्र बुझाइसकेको पार्टीले जनाएको छ।

ज्ञापनपत्रमा मधेस विद्रोहको भावनाअनुसार संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा, कोशी प्रदेश खारेजी र पहिचानको आधारमा प्रदेश नामाङ्कन लगायतका २८ बुँदे माग समावेश थिए। ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नहुँदा सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिइएको थियो।


जसपा नेपाल सप्तरीका उपाध्यक्ष लक्ष्मण यादवका अनुसार धर्ना पार्टीले सार्वजनिक गरेका चरणबद्ध संघर्ष कार्यक्रमअन्तर्गत भएको हो। मंसिर १० गते देशभरका जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो भने मंसिर ११–१५ गते शहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन अभियान सञ्चालन गरियो।

वर्तमान धर्ना मंसिर १९–२१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्ड र ब्यानरसहित जारी रहनेछ। आगामी मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला–स्तरीय विरोध तथा जनसभा आयोजना गरिनेछ। प्रदेश–स्तरीय कार्यक्रमअनुसार पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ गते नेपालगन्ज/भैरहवामा प्रदर्शन हुने छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर