अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि नयाँ शान्ति योजना ल्याएको घोषणा गर्दै स्वीकार गर्न हमासलाई चेतावनी दिएका छन् ।

सोमबार व्हाइट हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनीहरूले तत्काल युद्धविराम र बन्धक मुक्तिको व्यवस्था समेटिएको प्रस्ताव सार्वजनिक गरेका हुन् ।

प्रस्तावअनुसार ७२ घण्टाभित्र हमासले २० जना जीवित इजरायली बन्धक र मृत्यु भइसकेका करिब दुई दर्जन बन्धकको शव फिर्ता गर्नेछ भने सोको सट्टामा सयौं गाजावासीलाई रिहा गरिनेछ । त्यसपछि गाजामा भइरहेको सैन्य कारबाही तत्काल रोक्ने उल्लेख गरिएको छ ।

योजनामा हमासलाई गाजाको शासनमा कुनै भूमिका नदिइने प्रावधान राखिएको छ । भविष्यमा स्वतन्त्र प्यालेस्टिनी राज्यको ढोका भने खुला रहने बताइएको छ ।

ट्रम्पले यसलाई ‘शान्तिका लागि ऐतिहासिक दिन’ भन्दै प्रशंसा गरे पनि हमासले इन्कार गरे नेतान्याहुलाई अमेरिकी समर्थनसहित हमासको खतरा अन्त्य गर्ने अधिकार रहने चेतावनी दिएका छन् । नेतान्याहुले पनि योजना अस्वीकार भएमा इजरायल आफैंले ‘काम समाप्त गर्ने’ बताएका छन् ।

पश्चिम किनारमा रहेको प्यालेस्टिनी प्राधिकरणले अमेरिकी प्रयासलाई ‘सच्चा र दृढ’ भन्दै स्वागत गरेको छ । संस्थाले युद्ध अन्त्य, गाजामा मानवीय सहयोग सुनिश्चित गर्ने र बन्धक–कैदी आदानप्रदानमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर