काठमाण्डौ,२५ चैत्र । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एनी भन्ने अनिता कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार सुरेश रजक जलेको घरमा आगजनी भइरहँदा कुँवर त्यही घरबाट बाहिरिँदै गरेको भिडिओ सार्वजनिक भएको थियो।
सोही भिडिओसहितका प्रमाणका आधारमा नमोबुद्ध, काभ्रेकी कुँवरलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। त्यस दिन दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनमा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ।

त्यो घरबाट बाहिरिनुअघि उनी सुरेशलाई जलाइएको कोठाबाटै बाहिर केही बोलेजस्तो भिडिओमा देखिन्छ। उनीसँगै रहेकाहरूले भित्र भएका सामान सडकमा फालिरहेका हुन्छन्। तलबाट आगो लागिरहँदा उनी माथि नै देखिन्छन्। त्यसको केहीबेरमा उनी बाहिरिए पनि पछि हेर्दा उक्त कोठामा ताला लागेको हुन्छ।
उनीसँगै एक पुरुष भने आफ्नो अनुहार कपडाले ढाकेर बाहिरिएका हुन्छन्। त्यहाँबाट बाहिरिएपछि उनले आगो लागेको भन्दै फेसबुकमा लाइभ गर्छिन्। तर उनीसँगै आन्दोलन गरिरहेकाहरुले नै आगो निभाउन गएको दमकल तोडफोड गर्छन् र आगो निभाउन दिँदैनन्।
राजावादीहरुले यसरी अवरोध गरेपछि प्रहरी पनि त्यहाँ पुगेर तत्काल आगो निभाउन असफल हुन्छ। सोही आगोमा जलेर पत्रकार रजकको ज्यान गएको पछि मात्रै पुष्टि हुन्छ।
यही घटनामा कुँवरको संलग्नता रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनलाई पनि थप अनुसन्धानका लागि अनुसन्धान कार्यालयले काठमाडौँ जिल्ला प्रहरी परिसरमा पठाएको छ।
राप्रपा र दुर्गा प्रसाईंको अगवाइमा गरेको प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान गएको छ। प्रदर्शनकारीले व्यक्तिका घरमा तोडफोड तथा आगजनी गरेका थिए।
पछि प्रहरीसहित सरकारी गाडी, व्यक्तिका गाडी आगजनी गरेका थिए। विभिन्न ठाउँका सीसीटीभी तोडफोड गरेका उनीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोर लुटपाट गरेका थिए। यी घटनामा प्रहरीले ७० जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री समेत रहेका सांसद धवल शमशेर राणा पनि हिरासतमा छन्। तर यो प्रदर्शनका कमान्डर तोकिएका दुर्गा प्रसाईंसहित अझै केही व्यक्ति फरार छन्।
प्रहरीले त्यस दिनका घटनास्थलका भिडिओ हेरेर पहिचान गर्दै पक्राउ गरिरहेको छ।






