काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेला आगामी साउन २९ गतेदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त भेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।

आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार भेलाको नेतृत्व आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले गर्नेछन्। पूर्वसभापति देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुने यस कार्यक्रमको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने तय भएको छ। उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेपछि शनिबार र आइतबार दुई दिनसम्म बन्द सत्र सञ्चालन गरिनेछ।

भेलामा मुलुकभरिबाट करिब ४ हजार ६ सय जना नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिए पनि त्यो सङ्ख्या बढेर ५ हजार नाघ्न सक्ने आयोजकको अनुमान छ।

बन्द सत्रमा पेस गरिने राजनीतिक तथा संगठनात्मक प्रतिवेदनको तयारीसमेत अन्तिम चरणमा पुगेको र त्यसलाई चाँडै सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने बताइएको छ। पार्टीभित्रको पछिल्लो आन्तरिक परिदृश्य, संगठनात्मक संरचना र आगामी राजनीतिक रणनीतिबारे गहन छलफल गरी ठोस निष्कर्ष निकाल्ने उद्देश्यले देउवा समूहले यो भेला डाकेको हो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर