परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सक्रियताको कुरा उठाउँदा भारतीय विदेशमन्त्री एसजयशंकरले उल्टै प्रतिप्रश्न गरेको खुलासा गरेकी छिन्।
सोमवार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सार्क सम्मेलनबारे कुरा उठाएपछि परराष्ट्रमन्त्री राणाले त्यसको जवाफ दिँदै त्यस्तो खुलासा गरेकी हुन्।

‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ,’ उनले जयशंकरसँग गरेको कुराकानीको जानकारी दिँदै भनिन्, ‘सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ। जयशंकरजीले तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो भन्नुभयो।’
जयशंकरको उक्त प्रश्नपछि आफूले केही भन्न नसकेको परराष्ट्रमन्त्री राणाको भनाइ थियो। उनले भनिन्, ‘त्यसपछि मैले केही भन्न सकेको छैन।’
सार्ककको १८ औं सम्मेलन सन् २०१४ मा नेपालले आयोजना गरेको थियो। १९ औं सम्मेलन पाकिस्तानमा गर्ने तय भए पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदा त्यसतया सम्मेलन हुन सकेको छैन।
नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले अर्को सम्मेलनका लागि जोड दिए पनि त्यो सफल हुनसकेको छैन। आफ्नो देशमा आक्रमण हुनुमा पाकिस्तानको दोष रहेको भन्दै भारतले पाकिस्तानसँग सार्कको ‘मञ्च सेयर’ गर्न अस्वीकार गर्दै आइरहेको छ।






