राजविराज, १० असोज। अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा गम्भीर खतराको घण्टी बजेको छ। पछिल्लो केही दिनयताको निरन्तर वर्षाले नदीको जलसतह अत्यधिक रूपमा बढाएपछि ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

ब्यारेज नियन्त्रण कक्षले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार हाल सप्तकोशी नदीमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। जलसतह अझै पनि निरन्तर बढ्दो क्रममा रहेकोले ब्यारेज प्रशासनले यसलाई अति जोखिमपूर्ण अवस्थाका रूपमा लिएको छ।

नदीको अत्यधिक दबाबलाई सन्तुलनमा राख्दै सुरक्षित निकास दिन कोशी ब्यारेजका कुल ५६ वटा ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन्। ढोका खोलेर पानीको बहावलाई सहज बनाउने प्रयास जारी राखिए पनि जलसतह घट्न सकेको छैन।

यसैबीच, सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र र आसपासका बासिन्दाहरूलाई पूर्ण सतर्कता अपनाउन स्थानीय प्रशासनले जोडदार आग्रह गरेको छ। सुरक्षा निकायलाई पनि सम्भावित आपत्कालीन स्थितिसँग जुध्न तयारी अवस्थामा राखिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर