सप्तरी,०९ असोज । रसुवामा गएको बाढीमा परेर बुबा गुमाएका र एक वर्षअघि मात्रै क्यान्सरका कारण आमालाई समेत गुमाएका सप्तरीका दुई टुहुरा बालबालिकाको सम्पूर्ण लालनपालन तथा पठनपाठनको जिम्मा समाजसेवी डा. बबी सिंहले लिएकी छन्। राजविराज नगरपालिका–१६ का १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनी निभा सदा अब डा. सिंहको संरक्षणमा हुर्कने भएका छन्।
सुभाष र निभाका बुबा बेचन सदा गत भदौ १० गते मजदुरीको सिलसिलामा रसुवा गएको बेला आएको बाढीमा बेपत्ता भएका थिए भने त्यसअघि नै गत वर्षको कात्तिकमा उनीहरूको आमा फुलिया देवीको क्यान्सरका कारण निधन भएको थियो। मातापिता दुवैको साया गुमाएपछि नाबालक बहिनीको लालनपालनको बोझ १५ वर्षीय बालकसमेत रहेका सुभाषको काँधमा आएको थियो।

अत्यन्त विपन्न अवस्थाका ती बालबालिकाको हेरचाह गर्ने अन्य कोही नभएपछि समाजसेवी डा. सिंह स्वयं उनीहरूको घरमै पुगेर यस्तो घोषणा गरेकी हुन्। बालबालिका बालिग नभएसम्म उनीहरूका पठनपाठन, स्वास्थ्य उपचार र दैनिक जीवनयापनका सबै आवश्यकताहरू आफूले पूरा गर्ने प्रतिबद्धता उनले जनाएकी छन्। यसअघि छरछिमेक तथा विभिन्न दाताहरूले दिएको सहयोगका भरमा कष्टपूर्ण जीवन बिताउँदै आएका ती दाजु-बहिनीले डा. सिंहको घोषणासँगै अब ढुक्क भएर पढेर अघि बढ्ने अवसर पाउने भएपछि खुसी व्यक्त गरेका छन्।






