काठमाण्डौ,०८असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा बसोबास तथा अध्ययन गरिरहेका नेपाली नागरिकहरूले झेल्नुपरेको जटिल समस्याहरूतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिँदै सांसद ओलीले रुससँगको बैंकिङ सम्बन्ध विच्छेदको समस्या, छात्रवृत्ति पाएका विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी), चिकित्सा शिक्षाको मान्यता तथा श्रम स्वीकृतिको विषयमा तत्काल नीतिगत र कूटनीतिक पहल गर्न जोडदार माग गरिन्।

उनले रुसमा रहेका नेपालीले आफ्नो वैध कमाइ औपचारिक माध्यमबाट स्वदेश पठाउन नपाएको मुख्य समस्या औंल्याइन्। रुस–युक्रेन युद्धपश्चात रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय सञ्जालबाट वञ्चित हुँदा नेपालीहरू नगद नै बोकेर हिँड्नुपर्ने वा हुन्डीजस्तो अवैध कारोबारको सहारा लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउँदै उनले भारतसँगको जस्तै कुनै वैकल्पिक बैंकिङ संयन्त्रको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरिन्।
त्यस्तै, शिक्षा क्षेत्रतर्फ रुस सरकारको पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीले समेत समयमै एनओसी पाउन नसक्दा सुनौला अवसरहरू गुमाउने जोखिम बढेकोप्रति चिन्ता व्यक्त गरिन्। रुसबाट मेडिकल शिक्षा पढेर फर्केका डाक्टरहरूको इन्टर्नसिप र लाइसेन्समा देखिएको झन्झट हटाउन नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले प्रभावकारी ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ बनाउनुपर्ने उनको भनाइ थियो।
श्रम बजारबारे बोल्दै सांसद ओलीले नेपाली नागरिकलाई रुसी सेनामा जान प्रतिबन्ध लगाउनु सकारात्मक कदम भए पनि गैरसैन्य तथा अन्य सुरक्षित क्षेत्रमा भने चरणबद्ध रूपमा श्रम स्वीकृति खुला गर्न सरकारलाई सुझाव दिएकी छिन्।






