Lavc61.19.100

एसपी यादव/सर्लाही, साउन ३१ गते । साउन महिनामा सर्लाहीको बागमती नदीदेखि भारतको बिहारस्थित मढिया धामसम्म कावर यात्रा गर्ने श्रद्धालु भक्तजनको चहलपहल बढ्ने गर्द्छ । भगवान् शिवप्रति आस्था राख्ने भक्तजन तथा विभिन्न भाकल गरेका श्रद्धालुहरू बागमती नदीबाट पवित्र जल उठाएर कावरसहित भारतको मढिया धाम पुग्ने र शिवलिङ्गमा जल चढाउने गरेका छन् ।

साउन महिनालाई भगवान् शिवको आराधनाका लागि विशेष महत्त्वपूर्ण मानिने भएकाले जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरू बागमती नदी पुग्ने गरेका छन् । त्यहाँबाट विधिपूर्वक जल उठाएर कावरमा राखी पैदल तथा विभिन्न साधनमार्फत मढिया धामसम्म पुगेर भगवान् शिवलाई जल अर्पण गर्ने परम्परा रहँदै आएको छ ।

विशेषगरी भाकल पूरा गर्न, मनोकामना सिद्धिको कामना गर्न तथा परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै भक्तजनहरू कावर यात्रामा सहभागी हुने गरेका छन् । कावर बोकेर यात्रा गर्ने भक्तजनहरू ‘बोल बम’ लगायत भगवान् शिवसम्बन्धी धार्मिक नारासहित करिब सय किलोमिटरको यात्रा गर्दै मढिया धामतर्फ जाने गरेका छन् ।

कावर यात्राका क्रममा भक्तजनहरूको सुविधाका लागि विभिन्न स्थानमा स्थानीयवासी, सामाजिक संघसंस्था तथा धार्मिक समूहहरूले सेवा शिविरसमेत सञ्चालन गर्ने गरेका छन् । ती शिविरमा कावरिया भक्तजनका लागि खानेपानी, शरबत, फलफूल, खाना तथा प्राथमिक उपचारलगायतका सेवा उपलब्ध गराउने गरिएको छ ।

बागमती नदीबाट जल उठाएर सीमापारि मढिया धामसम्म पुग्ने धार्मिक यात्राले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत प्रतिबिम्बित गर्ने गरेको छ । वर्षौँदेखि चल्दै आएको यस धार्मिक परम्परामा प्रत्येक वर्ष साउन महिनामा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने गरेका छन् ।

कावर यात्राका कारण बागमती नदी क्षेत्रदेखि सीमावर्ती क्षेत्रसम्म धार्मिक वातावरण बनेको छ । यात्रामा सहभागी भक्तजनलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न स्थानीयस्तरमा स्वयंसेवक तथा सेवा समूहहरू परिचालन हुने गरेका छन् ।

श्रद्धालुहरूका अनुसार बागमतीको पवित्र जल मढिया धाममा पुगेर भगवान् शिवलाई अर्पण गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यही आस्थाका कारण टाढाटाढाबाट समेत भक्तजनहरू कावर लिएर यस धार्मिक यात्रामा सहभागी हुने गरेका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, कावर यात्रामा सहभागी श्रद्धालुहरूको सुरक्षा तथा आवतजावतलाई व्यवस्थित बनाउन सर्लाही प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ। बागमती नदीदेखि सीमावर्ती क्षेत्रसम्मको मार्गमा आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । भीडभाड हुने स्थान, मुख्य सडक तथा धार्मिक स्थल आसपासमा प्रहरी टोली खटाएर शान्ति सुरक्षा कायम गर्नुका साथै सम्भावित दुर्घटना तथा अप्रिय घटना रोक्न निगरानी बढाएको छ । कावरिया भक्तजनलाई सुरक्षित रूपमा यात्रा गर्न, सडकमा अनुशासित ढंगले आवतजावत गर्न तथा ट्राफिक नियम पालना गर्न आग्रहसमेत गरिएको डिएसपी गौतमले जनाएको छ ।

आज साउन ३१ गते महिनाको अन्तिम दिन भएकाले कावर यात्री तथा श्रद्धालु भक्तजनको थप भीडभाड बढ्ने अनुमान गरिएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर