राजविराज । गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामी बालकको उपचार गराउन पुगेका अभिभावक र कुरुवामाथि अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले दुव्र्यवहार र धम्की दिएको घटना सार्वजनिक भएको छ। चिकित्सक र कर्मचारीको हुलहुज्जतका कारण ३–४ वर्षका अबोध बालक गम्भीर मानसिक त्रास (ट्रमा) मा परेका छन्।
गत साउन १५ गते शुक्रबार बिहान १० बजे बाल रोग विभागमा उपचारका लागि पुगेका अभिभावकले दिउँसो १२ बजेसम्म पनि चिकित्सक नभेटेपछि सोधपुछ गरेका थिए। सो क्रममा ओपिडी टिकट संकलन गर्ने कर्मचारी मोबाइलमा टिकटक हेरेर बसेका र डाक्टरको अत्तोपत्तो नभएको भन्दै २ बजे आउन गैरजिम्मेवार जवाफ दिएका थिए। कुरुवाले डाक्टरको खोजी गर्दा ती कर्मचारीले धम्कियाउदै क्याबिनबाट बाहिर जान भनेका थिए।
त्यसलगत्तै त्यहाँ उपस्थित मण्डल थरका चिकित्सकले “जहाँ जानु छ जाऊ, जे गर्नु छ गर“ भन्दै स्थानीय भाषामा अपशब्द प्रयोग गरी अपमानित गरेको पीडित पक्षको आरोप छ।
घटना र ढिलासुस्तीबारे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बिरेन्द्र मण्डललाई फोनमार्फत जानकारी गराएपछि बाल रोग विशेषज्ञ डा. कृष्ण पौडेल आएर बालकको स्वास्थ्य परीक्षण सुरु गरेका थिए। तर, डा. पौडेलले बालकको चेकजाँच गरिरहेकै अवस्थामा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११८२६ रहेका डा. अरुण कुमार साहको नेतृत्वमा आएको एक समूहले अस्पताल परिसरमै कुरुवामाथि धाकधम्की, अपशब्द प्रयोग, प्रहरी बोलाएर थुनिदिने धम्की दिँदै कुटपिटको प्रयास समेत गरेको बताइएको छ। (पीडित पक्षसँग घटनाको अडियो र भिडियो फुटेज समेत सुरक्षित रहेको छ।)
बाल मनोविज्ञानमा गम्भीर असर
अस्पताल जस्तो संवेदनशील ठाउँमा चिकित्सक र कर्मचारीहरूबाट भएको हुलदंगा र अशोभनीय व्यवहारका कारण ती अबोध बालक अहिले गम्भीर मानसिक त्रासमा छन्। पहिले डाक्टर अंकल भन्दै आदर गर्ने बालक अहिले अस्पताल वा डाक्टरको नाम सुन्नासाथ तर्सिने, रुने र “अस्पताल जाँदिनँ, झगडा हुन्छ“ भन्दै डराउने गरेको पीडित अभिभावकले बताएका छन्।
बिरामीको उपचार गर्नुपर्ने ठाउँमा गुण्डागर्दी शैलीमा प्रस्तुत हुने, कुरुवामाथि दुव्र्यवहार गर्ने र बाल मनोविज्ञानमा अपूरणीय क्षति पुर्याउने डा. अरुण कुमार साह, डाक्टर मण्डल र संलग्न अन्य कर्मचारीहरूमाथि तत्काल निलम्बन गरी स्वास्थ्य सेवा ऐन तथा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै सम्बन्धित निकायमा आधिकारिक निवेदन पेस गरिएको छ। घटनाका पिडितको आग्रहमा नाम गोप्य राखीएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर