काठमाडौं, २८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विमानस्थल परिसरमै कार्यक्रम गर्न लागेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरस्थित उनकै निवासमा पुर्याएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलको संवेदनशील क्षेत्रमा कार्यक्रमको आयोजना गर्न लागेका थिए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई त्यहाँबाट हटाएको थियो ।

“विमानस्थलको निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खोजेपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं,” एसपी भट्टराईले भने, “अहिले उहाँलाई सुरक्षित रूपमा भक्तपुरस्थित उहाँकै घर पुर्याइएको छ ।”
बुझिएअनुसार, प्रसाईंले ‘गणेश नेपालीको न्यायका लागि’ भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए । यद्यपि, विमानस्थल जस्तो अत्यन्तै संवेदनशील र सुरक्षाका दृष्टिकोणले कडा निगरानी हुने क्षेत्रमा बिना अनुमति भिडभाड तथा कार्यक्रम गर्न नपाइने कानुनी प्रावधान रहेका कारण प्रहरीले उनलाई रोकेको हो ।
यस घटनापछि विमानस्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने प्रसाईंलाई उनको घरमै सुरक्षित छाडिएको प्रहरीले जनाएको छ ।






