काठमाडौँ — हास्य कलाकार तथा अभिनेता जितु नेपाल ‘मुन्द्रे’ को मुख्य भूमिका रहेको चलचित्र ‘आई एम जितबहादुर’ को बुधबार साँझ राजधानीमा सेलिब्रेटी प्रिमियर सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित आएनआई चलचित्र भवनमा आयोजित प्रिमियरमा फिल्मले उपस्थित कलाकर्मी र दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ।

प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, तुलसी घिमिरे, केकी अधिकारी, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, दीपाश्री निरौलालगायत फिल्म क्षेत्रका दर्जनौँ हस्तीहरूको उपस्थिति थियो। प्रिमियरमा सहभागी कलाकारहरूले फिल्मको कथावस्तु र विशेषगरी जितु नेपालको अभिनयको खुलेर तारिफ गरेका छन्। एक सामान्य व्यक्तिले अभिनेता बन्ने सपना पछ्याउँदा भोग्नुपर्ने सङ्घर्ष, चुनौती र जीवनका उतारचढावलाई फिल्मले भावनात्मक र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको प्रतिक्रिया उनीहरूको थियो।

सुभेन्दु घोष निर्देशित यस चलचित्रमा जितु नेपालका साथै वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, पवन खतिवडा लगायतका कलाकारको मुख्य अभिनय छ। गाउँको सामान्य पृष्ठभूमिबाट कलाकारितामा उदाउने एक युवकको सपनाको यात्रालाई फिल्मले मार्मिक तवरले चित्रण गरेको छ।

अभिनेता जितु नेपाल स्वयम् निर्माता रहेको यस चलचित्रका सह–निर्मातामा राजन सिम्खडा र दीपेन्द्र अधिकारी छन् भने निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर