महेन्द्रनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कञ्चनपुरमा अनपेक्षित निर्णय लिएको छ। जिल्ला तहको आन्तरिक प्रतिस्पर्धा र जनमतलाई बेवास्ता गर्दै नेतृत्वले ‘टप’ उम्मेदवारलाई पाखा लगाएर ‘बटम’मा रहेकालाई टिकट दिएपछि कञ्चनपुर एमालेमा खैलाबैला मच्चिएको छ।

६१ मत ल्याउने चन्द आउट, ५० मत ल्याउने सिंह इन

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा अशोककुमार चन्द ६१ मतका साथ पहिलो स्थानमा थिए। पार्टीको तल्लो तहका कार्यकर्ताको पहिलो रोजाइमा परेका चन्दलाई टिकट दिइने अपेक्षा गरिए पनि शनिबार बसेको सचिवालय बैठकले सबैलाई आश्चर्यमा पार्दै वचनबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

अचम्मको कुरा त के छ भने, सिंह आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा कम अर्थात् ५० मत ल्याएर पुछारमा थिए। युवा संघका पूर्वअध्यक्ष समेत रहेका सिंह २०७९ को प्रदेशसभा निर्वाचनमा पराजित भएका नेता हुन्। चुनाव हारेका र आन्तरिक प्रतिस्पर्धामा समेत कमजोर देखिएका पात्रलाई पार्टीले टिकट दिएपछि कार्यकर्ताहरूले नेतृत्वको मापदण्डमाथि प्रश्न उठाएका छन्।

तारालामा तामाङको ‘ब्रेक’, कमला बोहरालाई मौका

कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि एमालेले नयाँ प्रयोग गरेको छ। २०७९ को निर्वाचनमा बलियो वाम–लोकतान्त्रिक गठबन्धनलाई धुलो चटाउँदै विजयी भएका प्रभावशाली नेता तारालामा तामाङलाई यसपटक एमालेले रोकेको छ। तामाङको स्थानमा केन्द्रीय सदस्य कमला बोहराले चुनावी मैदानमा उत्रिने अवसर पाएकी छिन्। बहालवाला सांसदलाई रोकेर बोहरालाई अघि सार्नुलाई एमालेको आन्तरिक शक्ति समीकरणको उपज मानिएको छ।

क्षेत्र नम्बर ३ मा डा. भट्टको पुनरागमन

यता क्षेत्र नम्बर ३ मा भने एमालेले पुराना र बौद्धिक नेता डा. दीपकप्रकाश भट्टमाथि नै भरोसा गरेको छ। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकलाई पराजित गरेर चर्चामा आएका भट्टलाई एमालेले पुनः सोही क्षेत्रको जिम्मेवारी सुम्पिएको हो।

कार्यकर्तामा असन्तुष्टि र चुनावी चुनौती

लोकप्रिय मत पाएका नेताहरूलाई पाखा लगाएर ‘केन्द्रको आशीर्वाद’ प्राप्त नेताहरूले टिकट पाएपछि कञ्चनपुर एमालेभित्र आन्तरिक कलह बढ्ने संकेत देखिएको छ। “जिल्लाले पठाएको जनमतको कदर भएन, यसले चुनावमा नकारात्मक असर पार्न सक्छ,” एमालेका एक स्थानीय नेताले गुनासो गरे।

आन्तरिक मत सर्वेक्षणमा ६१ मत पाउने चन्दलाई किन रोकियो र ५० मत पाउने सिंहलाई किन प्राथमिकता दिइयो भन्ने विषय अहिले महेन्द्रनगरका गल्लीदेखि चौतारीसम्म चर्चाको विषय बनेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर