काठमाडौं । जारी नेपाल प्रिमियर लिगले सबै खेलप्रेमीको ध्यान खिचिरहेको छ । समूह चरणको खेलको छैटौं दिन भइरहँदा विभिन्न क्षेत्रमा कार्यरत चर्चित अनुहार पनि मैदानमा देखिन थालेका छन् ।
शनिबारको दोस्रो खेल विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच भइरहेको खेल हेर्न कलाकारद्वय एलिना चौहान र प्रताप दास पनि आइपुगेका छन् । उनीहरूले आफूले समर्थन गरेको टिमको पक्षमा उत्साहले साथ दिइरहेका छन् ।

त्यसबाहेक पनि शनिबार भएको दुवै खेलमा दर्शकहरू उत्तिकै मात्रामा आएका छन् । खेल हेर्न मैदान पुगेका दर्शकको हुटिङले रंगशाला गञ्जयमान भएको छ ।
शनिबार एकैदिन २ खेल भएका थिए । कुनै दर्शकले बिहान चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेलमात्रै हेरे पनि अधिकांश दर्शकले दुवै खेल हेरे। आजको खेलका लागि अग्रिम अनलाइन टिकट पूरा विक्री भइसकेको थियो ।






