काठमाडाैं,२७ असोज।
इरानद्वारा १ अक्टोबरमा इजरायलमाथि गरिएको मिसाइल हमलाको विरोधमा अमेरिकाले एक दर्जन कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
यी कम्पनीहरू इरानसँग तेलको व्यापारमा संलग्न छन् । अमेरिकी प्रतिबन्धको दायरामा भारतको पनि एउटा कम्पनी पनि परेको छ । भारतीय कम्पनी गब्बारो शिप सर्भिसेजले आफ्नो ट्यांकर ‘हार्नेट’ मार्फत एसियाली देशहरूमा इरानी तेल आपूर्ति गर्छ ।

यो ट्यांकर इरानबाट पेट्रोलियम पदार्थहरू आपूर्ति गर्ने ‘घोस्ट फ्लीट’को हिस्सा भएको अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ । प्रतिबन्धको प्रभावमा विश्वभरका ती कम्पनीहरू परेका छन्, जसले इरानको तेल व्यापारमा संलग्नता राख्छन् ।
प्रतिबन्धमा परेका प्राय: कम्पनी संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, हङकङ र सूरीनामका छन् । प्रतिबन्धपछि यी कम्पनीहरू अब अमेरिका जोडिने कुनै पनि गतिविधिमा संलग्न हुन सक्ने छैनन् ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलीवानले भनेका छन्- ‘इरानले इजरायलको सबभन्दा जनसंख्या बाक्लो शहर तेल अवीवलाई निशाना बनाएको थियो, जसले हजारौँ निर्दोष व्यक्तिको ज्यान जान सक्थ्यो । यसकारण सर्वसाधारणलाई लक्षित गर्ने गतिविधिको विरोध गर्नु आवश्यक छ ।’इजरायल र इरानबीच युद्धको सम्भावना पनि देखिएको छ ।
यदि यो युद्ध भयो भने यसको गम्भीर असर पश्चिम एसिया मात्र होइन, दक्षिण एसियामा पनि पर्न सक्छ । पेट्रोलियम पदार्थको मूल्यसहितका विषयमा अधिक प्रभाव पर्ने आशंका गरिएको छ ।






