नेपालले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयबारे भारतले प्रतिक्रिया दिएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका हुन्।

नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको थियो।

जयशंकरलाई एक पत्रकार सम्मेलनमा नेपालको सो निर्णयबारे प्रश्न सोधिएको थियो।

‘हाम्रो अडान स्पष्ट छ। हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ। त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन,’ जयशंकरले नेपालले जारी गरेको नयाँ नक्सातर्फ समेत संकेत गर्दै भने।

नेपालले २०७७ मा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको थियो।

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको थियो।

त्यतिखेर अतिक्रमित नेपाली भूमिमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि नेपालले सो नक्सा जारी गरेको थियो। जसलाई संसदले अनुमोदन गरेको थियो।

नेपालको सो कदमको विरोध गर्दै भारतले त्यसलाई नस्वीकार्ने बताएको थियो।

सन् १८१६ को सुगौली सन्धिले काली नदीलाई नेपालको पश्चिमी सीमा मानेको छ। नेपालले सीमा छुट्याउने त्यो काली नदी लिम्पियाधुराबाट निस्केको नदी नै भन्दै आएको छ। तर, भारतले कालापानीमा भारतीय फौज बसेको स्थाननजिकैको सानो खोल्सोलाई काली नदी नामाकरण गरेको छ।

तर, सो खोल्सो त्यसभन्दा पश्चिमतर्फको जमिन अतिक्रमणका लागि भारतले कृत्रिम रुपमा तयार गराएको नेपाली विज्ञहरुको धारणा छ।

पछिल्लो समय सीमा समस्याबारे द्विपक्षीय संयन्त्रहरुमा नेपाल र भारतबीच वार्ता हुन सकेको छैन।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर