बजेट खर्च गर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सचिवहरुलाई निर्देशन दिएका छन् । बजेट खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग छलफल गरेका थिए ।

‘अब बजेट कार्यान्वयन ढिलासुस्ती गर्न कुनै पनि बहाना छैन । बजेट कार्यान्वयन गर्न के–के कुराले रोक्छ ऐन कार्यविधि नियमावली जे बाधक बनेका छन् ती सबै संशोधन गर्न नयाँ बनाउन परे सरकार तयार छ,’ कार्कीले भने । जनताको काम गर्न अलमल गर्ने छुट कसैलाई नभएको भन्दै कार्कीले वातावरणमैत्री र मानवीय विकास प्रदेश सरकारको प्राथमिकता भएको बताए ।

उनले भने,“सेवाग्राहीलाई सम्मान गर्दै मानवीय विकासमा जोड दिनुपरेको छ । खर्च गर्ने क्षमता बढाएर सुशासन कायम गर्दै अगाडिका चुनौतीहरूलाई समाधान गर्नु पर्दछ ।”

सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउन आवश्यक सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति सरकारको भएको उनले सुनाए ।

राजनीति र प्रशासनबिच विश्वासको वातावरण निर्माण गरी शासन, विकास र सेवा प्रवाह गरिनुपर्ने कार्कीको जोड थियो । उनले भने, “कार्यान्वयन गर्ने निकायमा कुनै पनि राजनीतिक दबाब, प्रभाव आए त्यसको जिम्मेवारी म लिन्छु ।”

बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन, कार्यविधि, निर्देशिका निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भए पहिचान गरी मन्त्री तथा मुख्यमन्त्री समक्ष पेस गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।

प्रमुख सचिव दीपककुमार काफ्ले सबै मन्त्रालय तथा निकायले १० दिनभित्र बजेट कार्यान्वयन कार्ययोजना निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गर्ने र सोही कार्ययोजनाअनुसार कार्यान्वयन गर्ने बताए ।

छलफलमा स्थानीय तहले संकलन गरी विभाज्य कोषमार्फत प्रदेश सरकारमा आउनु पर्ने राजश्व सबै स्थानीय इमानदारी पूर्वक नपठाएको गुनासो आएको भन्दै मुख्यमन्त्री कार्कीले आवश्यक समन्वय गरिनुपर्नेमा जोड दिएका थिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर