राजविराज, १० माघ ।
सप्तरीको बोदेबर्साईन नगरपालिकामा सप्तरीका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको भेला सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित भेलामा जिल्लाको १८ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सहभागिता जनाएको हो ।

बोदेबर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहको अध्यक्षता आयोजित भेलामा सप्तरीको ९ नगरपालिका प्रमुख र ९ गाउँपालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । अध्यक्षको आसनबाट बोल्दै नगर प्रमुख सिंहले संविधानले तोकेको क्षेत्रधिकारको परिधीभित्र रही पालिकाको हक अधिकार संरक्षणमा जोड दिए । प्रत्यक्ष रुपमा स्थानीय जनताद्वारा ठूलो आशा र भरोसाकासाथ निर्वाचित भएका छौं, उनले भने, स्थानीय आवश्यकता, जनताका रुची र अपेक्षा अनुसार कार्य गर्ने जनादेशसहित हामीलाई जिम्मेवारी प्राप्त भएको छ, तोकिएको भूगोलभित्र शासन व्यवस्था सञ्चालन गर्ने शासकीय संगठन र संरचनालाई उपयोग गरि अगाडि बढ्नु हामी सबैको कर्तव्य हो । उनले स्थानीय सरकार जनताको सबभन्दा नजिकको सरकार भएकोले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने आबश्यकता औंलाए ।

बैठक २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई अत्याधिक जरिवना तोकेको भन्दै भेलाका सहभागीहरुले असन्तुष्टि व्यक्त गरे । भेलाले निर्वाचन खर्च सम्बन्धि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा सरोकारवलाहरुलाई ज्ञापन–पत्र बुझाई पहल गर्ने, राजविराज नगरपालिकामा जिल्लास्तरीय पालिका भवन बनाउने तथा भवन निर्माणका लागि राजविराज नगरपालिकाले जग्गा उपल्बध गराउने, भवन बनाउन लाग्ने श्रोत संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकारबाट उपलब्ध गराउने निर्णय गरेको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।

यस्तै शम्भुनाथ नगरपालिकामा डकैती भएको १५ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता नलगाउनु तथा विपद् ब्यवस्थापनका लागि कम्बल वितरण कार्यक्रममा प्रहरीले स्थानीय सरकारसँग समन्वय नगरकोले समवन्यका लागि आबश्यक पहल गर्ने समेत निर्णय भएको उनले जानकारी दिए । भेलाले महिनाको अन्तिम शनिबार चक्रिय प्रणाली अन्तर्गत १८ वटै पालिकामा स्थानीय सरकारको हकहित संरक्षणका लागि बैठक बस्ने निणर्य गरेको सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णा कुमार ढकालले बताए ।

सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरीले स्थानीय सरकार स्थानीय जनताको दैनिकी र समस्यासँग सबैभन्दा नजिक र प्रत्यक्ष जोडिए बताईन् । जनताको बिभिन्न समस्या देखापर्ने गरेकाले जनगुनासोलाई सम्बोधन गर्दै पालिकाको हकहित संरक्षण गर्न एकीकृत भएर काम गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको नगरप्रमुख चौधरीले बताइन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर