राणाजीका पूजारीहरू पनि बग्गीमै नित्यपूजाका लागि आइपुग्थे । ‘नाथे पूजापाठ गर्ने पूजारी पनि बग्गीमा अनि देशकै बागडोर सम्हालेका श्री ३ पनि बग्गीमै?’ यो त भएन भनेर राणाजीहरूले रिक्सा झिकाएँ ।
एक रथको ‘तीन पाङ्ग्रा’ यानिकी ‘रिक्सा’ !

रथको विकल्पमा काठमाडौं भित्र्याइएकाले यसलाई मैले ‘एक रथको तीन पाङ्ग्रा’ भनेको हुँ । आफ्नो शरीरको बल पाइडलमा लगाएर कुदाइने रिक्सा हेर्दा सजिलो साधन देखिए तापनि कुदाउन निकै कठिन छ । शरीरबाट बग्ने पसिना नै ‘रिक्साको लागि तेल हो’ भन्दा फरक पर्दैन ।
उसो त रिक्साको यात्रा रोमाञ्चक यात्रा हो । शानसँग वरपरका ठाउँ हेर्दै, भुइँमान्छेहरूतर्फ नजर फ्याँक्दै फूर्तिसाथ् शहर डुल्न सकिन्छ । शहरका भित्रि गल्लिहरूले बचाइराखेका पुराना स्वादहरू सुघ्न, देख्न सकिन्छ । यसैले त विदेशी पर्यटकहरू रिक्सा चढ्न भनेपछि मरिहत्ते गर्छन् । तर, कोरोना र इ-रिक्साका कारण त्यो दृश्य अब बिरलै देख्न पाइन्छ । अहिले त पर्यटक नै छैनन् ! पर्यटक नै नभएपछि रिक्सा चालकहरू हातको सिरानी हालेर रिक्सामै निदाइदिन्छन् । रिक्सामा काठमाडौं विशेष साइटसिइङ गराइने त्यो विगत इतिहास हुन् के बेर ?

तराईमा विशेषगरि सार्वजनिक यातायातको रूपमा प्रयोग हुने मानवीय रिक्सालाई अहिले इ-रिक्साले विस्थापित गरिसकेको छ । यद्यपि, काठमाडौं उपत्यकामा अझै पनि मानवीय रिक्साको अनुभव लिन सकिन्छ । असन, ठमेल, वसन्तपुर, धोबीचौर लगायतका क्षेत्रमा रिक्सा भेट्न सकिन्छ ।
रिक्साको इतिहास
इस्वीको १८८० आसपास भारतमा प्रथमपटक रिक्सा देखा परेको बताइन्छ । रेभेरेन्ड जे. फोर्डिसले भारतको सिमलामा पहिलोपटक रिक्सा प्रयोग गरेको बताइने गरिएतापनि १८६८ तिर नै जापानमा रिक्सा प्रयोग गरिएका तथ्यहरू पनि भेटिन्छन् । ‘Jinrickshaw’अर्थात् मानव सन्चालित गाडीबारे तथ्यहरू बाझिएका छन् ।

केही अमेरिकी स्रोतहरूले अमेरिकी लोहार अल्बर्ट टोलम्यानलाई रिक्साको आविष्कारक बताएका छन्, जसले सन् १८४८ मा वर्सेस्टर, म्यासाचुसेट्समा मिसनरीका लागि रिक्सा आविष्कार गरे । केहिले जापानका एक अमेरिकी मिसनरी जोनाथन स्कोबी (वा जोनाथन गोबल) ले सन् १८६९ मा आफ्नी अवैध पत्नीलाई योकोहामाको सडकमा ढुवानी गर्न रिक्सा आविष्कार गरेका बताउँछन् । फ्रान्सले पनि रिक्सा आविष्कारमा आफ्नो दाबी पेश गर्ने गरेको पाइन्छ । तर हालसम्म प्रमाणहरूअनुसार जापानलाई अनि रिक्सा खोजील्याउने देश मानिएको छ, यसपश्चात् चिनिया व्यापारीहरूले सामान ढुवानी गर्न भारतमा रिक्सा प्रयोग गरेको तथ्यहरू भेटिन्छ । जे होस्, १९१४ आइपुग्दासम्म कलकत्ता आसपास रिक्साहरू देखिन थालिसकेका थिए । यसपश्चात् दक्षिणपूर्वी देशका ठुला सहरहरूमा रिक्सा देखिन थाले र रिक्सा तान्नु यस भेगका आममान्छेको दैनिकी बन्न पुग्यो ।
नेपालमा रिक्सा कसरी भित्रियो ?
आजभोलि सवारी राखेर कुदिरहेका रिक्साहरू ‘सवारीसाधन’को रुपमा काठमाडौं भित्राइएको हुँदै होइन भन्दा तपाईं मलाई ‘तैँ जान्ने’ भन्नुहोला तर, झुटो होइन नैना रेशम यो कुरा साँचो हो । रिक्सा भित्रनुको कथा सुनाउनुअघि केहि तथ्यहरू जान्न आवश्यक छ ।
त, एक-दुई कुरा भनिहालूँ,
१. उसो त सबैभन्दा पुरानो सवारीसाधनको रुपमा गोरु गाडालाई विकिपीडियाले मानेको पाइन्छ । घोडा, उँट, खच्चड, जेब्रा लगायत जनवार पनि यातायातकै साधनको रुपमा प्रयोग भएका हुन् र युरोपेलीहरूले अफ्रिकामा उपनिवेश बनाएताका मान्छेहरूलाई प्रयोग गरेको ऐतिहासिक फोटोहरू भेटिन्छन् ।
२. बग्गी सबैभन्दा प्रसिद्ध सवारीसाधन थियो, जो राजा र राणाजीहरू मात्रै प्रयोग गर्दथे । दुई पाङ्ग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बनाइएको स्वरुप नै बग्गी (एक्का, टाँगा )भएको इतिहासकार सनत रेग्मीको मत छ । राणा प्रधानमन्त्री जंगबहादुर, जुद्धशमशेर, भीमशमशेर, चन्द्र शमशेर हुँदै शाह परिवारका राजामहाराजाले समेतगरी २१ बग्गीको उपयोग गरेला छन्, ती बग्गीका आ–आफ्नै विशेषता छन् । राजसंस्थाको अन्त्य भएसँगै सेनाले इतिहासको त्यस नासो बग्गी ब्यारेजमा संरक्षण गरेको छ ।
३. गाडी भित्रिएको कुरा अलि पछीको कुरा हो । वि.सं.१९७८सालमा बेलायती राजकुमार एडवर्डले चितवनको कसरा शिकार खेल्न आउँदा भारतबाट मोटरमा आएका थिए । त्यो मोटर नै नेपालमा पहिलो पटक गुडेको थियो । त्यसपछि राणाजीहरूलाई मोटर चढ्नुपर्ने भयो अनि उनीहरूले मान्छे बोक्ने गाडीलाई मान्छेद्वारा बोकाएर नेपाल भित्राए ।
यो पढ्नुहोस्, उहिले गाडी बोक्नेहरूकाे कथा: ‘गाडी बोक्ने केटासँग विवाह गर्न तँछाडमछाड गर्थे केटीहरू’
Date: 1966-1967 Location: Kathmandu, Rickshaw parked on a street.
अब हामी रिक्सामा आऊ,
त्यतिबेला रिक्सा भित्राउनुको प्रयोजन पछाडि राणाजीहरूको मनासय यस्तो थियो, राणाजी बग्गीमा सवार होइबक्सिन्थे । राणाजीका दरबारमा रहेका स-साना मन्दिरका पूजारीहरू पनि बग्गीमै नित्यपूजाका लागि आइपुग्थे । ‘नाथे पूजापाठ गर्ने पूजारी पनि बग्गीमा अनि देशकै बागडोर सम्हालेका श्री ३ हरू पनि बग्गीमै ?’ यो त भएन भनेर राणाजीहरूले रिक्सा झिकाएँ । त, राणाजीहरूको यस अहंकार निवारणका खातिर रिक्साले काठमाडौंमा आफ्नो पहिलो पाइलो टेक्यो ।
कुरा हुँदैछ, तात्कालिन राणाजी (प्रधानमन्त्री) चन्द्र शमशेरको । वि.सं. १९६६ मा उनैको अहंकारको कारण रिक्सा नेपाल भित्रिएको थियो ।सिंहदरबारको निर्माण कार्य भर्खरै सकिएको थियो । त्यतिबेला बनेका प्रत्येक दरबारमा सानो मन्दिर राख्ने चलन थियो । सोही अनुरूप सिंहदरबार भित्र पनि एउटा मन्दिर बनाइएको थियो र सो मन्दिरमा पूजा गर्न एकजना पण्डितलाई नियुक्त गरिएको थियो ।
तात्कालिन समयमा सवारी साधनको अन्य स्रोत उपलब्ध थिएन । नभएकाले पण्डितलाई बग्गीमा राखेर दरबार ल्याउने र घर लैजाने गरिन्थ्यो । पण्डित पनि बग्गी चढ्ने र आफू पनि बग्गी चढ्ने कुरा चन्द्र शमशेरलाई मनपरेको थिएन । त्यसैले राणाजी पण्डितकै लागि भनेर पहिलो रिक्सा भारतको मुजफ्फरपुरबाट काठमाडौं भित्राए ।
रिक्सा व्यवसाय समितिका उपाध्यक्ष राजेश मानन्धरका अनुसार, वि.सं. २००७ सालमा रिक्सा व्यावसायिक हिसाबले काठमाडौं प्रवेश गर्यो । काठमाडौंमा चल्ने प्रारम्भिक अटो रिक्शाहरू बजाज अटोले निर्माण गरेको थियो । केही समयमै भारतबाट सामानहरू झिकाएर नेपालमै रिक्सा फिटिङ हुन थाल्यो । राम्रैसँग चलिरहेको रिक्सा व्यवसाय विनाशकारी भूकम्प आएदेखि धराशायी बन्दै गएको छ । कोरोना महामारीका कारण पर्यटकहरू कम हुँदै गएपछि आज कति रिक्सा व्यवसायी सवारीको पर्खाइमै दिन बिताउने गर्छन् ।

***
मलाई रिक्साबारे केही कुराहरू जान्नु थियो । विशेषसरि काठमाडौंमा भएका रिक्साहरूबारे केही बुझ्नु थियो, रिक्सा चालकसँग बसेर कहिबेर भलाकुसारी गर्नु थियो, उनीहरूको अनुभव र अहिले समको यात्रा सुन्न मन थियो । त्यसैले म इन्द्रचौकतिर लागेँ ।
रिक्सा चालकहरूको बेहाल
त्यहाँ सवारी कुरेर बसिरहेका रिक्सा चालकसँग मैले एकछिन् बात मार्ने मौका पाएँ । अहिले उनीहरूको अवस्था नाजुक छ । पठाओले मान्छे र अलिअलि सामान पनि हालेर बोकिदिने हुनाले उनीहरूको अस्तित्व नै सङ्कटमा पर्दै गइरहेको छ । पर्यटनको आकर्षणको एक बिन्दु रहेको रिक्सा बिस्तारै हराउँदै जान थालेको छ ।
इन्द्र चोकबाट ठमेल डाँडासम्म पुर्याएको १५० रुपैयाँसम्म पारिश्रमिक उनीहरूले बुझ्ने गरेका छन् । तर, पर्यटकको कमी र पठाओको आगमनले आफ्नो जीविकोपार्जनको साधन नै सङ्कटमा रहेक रिक्सा चालक राजले बताए । मलेसियाको एक कम्पनीमा काम गर्ने क्रममा आगलागी भएपछि उनले एउटा आँखा गुमाए । आँखासँगै उनको काम पनि गुम्यो । रिक्सा चलाएर आफ्नो उपचार गराइरहेका राज घट्दो व्यापारले निकै चिन्तित छन् । नुवाकोटका राज रिक्सा व्यवसाय विस्थापित हुन लागेकोमा केही आत्तिएका देखिन्थे । उनीसँगको भलाकुसारीपछि म रिक्सा चालकहरूको मुख्य कारखाना धोबी चौरको रिक्सा ग्यारेज पुगेँ ।
रिक्सा व्यवसाय समितिका कोषाध्यक्ष जितेन्द्र खड्गी
त्यहाँ मेरो भेट रिक्सा व्यवसाय समितिका कोषाध्यक्ष तथा सो वडाका वडा सदस्य जितेन्द्र खड्गीसँग भयो । गफ गर्ने क्रममा उनले मलाई रिक्साको इतिहास र वर्तमान अवस्था सुनाए । पसिना बगाएर चल्ने रिक्साको भाँडा तेलबाट चल्ने साधनभन्दा थोरै महँगो हुन पर्ने जितेन्द्र बताउँछन् । रिक्सामा चढेर यात्रा गर्नुको आनन्द नै बेग्लै हुने भएकाले पारिश्रमिक दिन कन्जुस्याइँ गर्न नहुने पनि उनी बुझाउँछन् ।
काठमाडौंभरिमा कुल ४७३ रिक्सा रहेका छन् र सरकारलाई कर बुझाउने यी रिक्साहरूको ब्लुबुक समेत रहेको छ । बेला-बेला सोही ठाउँबाट जापान, अस्ट्रेलिया, स्विजरल्याण्ड लगायतका देशमा रिक्सा पठाउने समेत गरिएको छ । सरकारले खुल्ला रूपमा चल्न सधैँ बन्देज लगाउने हो भने यसको साटो सोही स्वरूपको इ-रिक्सा उपलब्ध गराउनु पर्ने माग पनि उनले सरकार समक्ष राखेका छन् ।

सयौँ मजदुरहरूको हजारौँ परिवार पालिने यो व्यवसाय जितेन्द्र खड्गीले ३० वर्षदेखि गर्दै आएका छन् । ‘स्लो भेहिकल’ रिक्सा वातावरणमैत्री भएकाले र पर्यटकलाई आकर्षित गर्ने राम्रो उपाय भएकाले नै उनले यो व्यवसाय थालेका हुन् । दुईवटा रिक्साबाट व्यवसाय सुरु गरेका उनले अहिले २०/२५ रिक्सा भाँडामा दिएर एउटा रिक्सा बापत १०० रुपैयाँ लिने गरेका छन् ।
रिक्सा चालकमाथि ट्राफिकको ज्यादती
साँघुरा गल्लिहरूमा कुदीहिँड्ने यी रिक्साहरूलाई फराकिलो चोकतिर कुदिहिँड्न भने मनाही छ । कुदिहिँडेमा ट्राफिक प्रहरीले बसीखान दिँदैनन् । ट्राफिक प्रहरीको नजरमा रिक्सा चलाउनेहरू ‘भुस्याह कुकुर’ बराबर हुन्, प्रहरीहरू हरेकबखत चालकहरूमाथि झम्टिहाल्छन् ।
महानगरमा रिक्साको राजस्व तिर्न जाँदा त्यहाँका कर्मचारीले घृणा भावले हेर्ने र व्यवहार गर्ने गरेकाले रिक्सा व्यवसायीहरू दुखी छन् । रिक्साको बजार सुक्दै गएपछि कयौँ रिक्सा त्यसै बेवारिसे भएर कुहिने अवस्थामा छन् । सरकार तथा ट्राफिकबाट रिक्सा चालक बेला-बेला अपमानित हुन परेको दुखेसो पनि छ । रिक्सा चालक भनेर धेरैले हेय भावले हेर्ने गरेका छन् । सरकारसँग बेखुस रिक्सा व्यवसाय खुल्ला रूपमा चलाउन पाउनु पर्ने र रिक्साको एउटा रेट राखिदिनु पर्ने माग जितेन्द्र राख्छन् । कहिलेकाहीँ रिक्सा चालकमाथि ट्राफिकबाट दुर्व्यवहार पनि हुने गरेको पनि उनले सुनाए ।
त्यहीँ आएका केही रिक्सा चालक र रिक्सा बनाउने काम गर्ने केही मेकानिकहरुको अनुभव र अहिलेको अवस्था पनि बुझ्ने मौका मिल्यो ।
हराएको रिक्सा खोजिरहेका गोविन्द पाण्डे
सोही ठाउँमा एक रिक्सा चालक गोविन्द पाण्डेसँग कुरा गर्ने क्रममा उनको ३७६ नम्बरको रिक्सा हराएको र सम्बन्धित निकायले बेवास्ता गरेको थाह पाइयो । यससम्बधि रिपोर्ट गर्न जाँदा प्रहरीले रिपोर्ट लिन नमानेको र अभद्र व्यवहार गरेको उनले सुनाए । उनी आफ्नो दुखेसो लिएर न्युरोड जनसेवामा गएका थिए तर, त्यहाँबाट उनलाई क्रूर बोली बोल्दै टेकु जान भनियो ।
विगत ३० वर्षदेखि रिक्सा चलाएर उनी जीविकोपार्जन गरिरहेका छन् । अहिले आफूले दुःख गरेर किनेको रिक्सा हराएर उनी भाडाको रिक्सा चलाइरहेका छन् । पहिला हराएको रिक्सा सोही जनसेवाले खोजिदिने गरेकाले उनी त्यहाँ पुगेका थिए तर त्यहाँ गरेको व्यवहारका कारण उनीसँग अब केही उपाय छैन ।

रिक्सा मेकानिक कृष्ण बहादुर राई
सोलुखुम्बुका कृष्ण बहादुर राईले ४७ वर्ष भयो, रिक्सासम्बन्धी काम गर्न थालेको । करियरको सुरुआतमा पर्यटकको भारी बोक्ने (पोर्टर)को काम गरेका राई पछि गाइडसम्म भए र माओवादी जनयुद्धको समयमा उनले त्यो पेसा छोडिदिए । त्यसपछि काठमाडौं प्रवेश गरेर उनले कुनाटोल र गणेशथानका ग्यारेजहरूमा रिक्सा बनाउने काम सिक्न थाले ।

ट्युब खोल्ने/टाल्ने गर्दा-गर्दै उनले बिस्तारै रिक्सा बनाउने काम सिकेको सुनाए । कुनै समय राम्रो कमाइ रहेको यो काममा अहिले निकै कम हुँदै गएको छ । यद्यपि राईले जेहेनतेहेन घरखर्च गरेका छन् । रिक्साको लामो यात्रा र सयौँ चालकलाई देखेका राईले भने “कुनै समय रिक्सा चलाएरै मान्छेहरूले काठमाडौंमा घर बनाए, छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिए, तर अहिले अवस्था खस्किँदै गइरहेको छ ।“
५६ वर्षदेखि रिक्सा चलाइरहेका दल प्रसाद
चालक दल प्रसाद नेपालले १८ वर्षको उमेरबाट रिक्सा चलाउँदै आएका छन् । उनी आफ्नो पुराना दिन सम्झिँदै त्यतीबेलाको काठमाडौं अर्कै रहेको सुनाउँछन् । कतै थोर-थोरै घरका बस्ती, खोलाहरूमा काठको पुल थियो भने कतै दिउँसो हिँड्न पनि डराउनु पर्ने अवस्था थियो । पहिला रमेश भन्ने व्यक्तिको रिक्सा चलाएको उनी सम्झिन्छन् । त्यसपछि उनले अन्य व्यावसायिका रिक्सा पनि कुदाए । एकपटक पर्यटक सवारी लिँदा अधिकतम १४ हजार सम्म कमाएको उनी सम्झिन्छन् ।

रिक्सालाई घर बनाएका खम्साङ्ग लामा
काभ्रेका खम्साङ्ग लामा विगत ४० वर्षदेखि रिक्सा चलाउँदै आएका छन् । ६८ वर्षका लामा अहिले चुस्त रूपमा रिक्सा चलाउने गर्छन् । काम विशेषले मात्र घर जाने लामा प्राय आफ्ना दिनरात रिक्सामै बिताउने गर्छन् । काठमाडौंमा उनको उनको वासस्थान छैन । उनी भन्छन् “यो रिक्सा नै मेरो कोठा हो ।”
होटेलमा खाना खाने, रिक्सामा सुत्ने लामा पानी उपलब्ध भएको ठाउँमा नुहाउने तथा लुगा धुने गर्छन् । उनी दैनिक रूपमा ५०० देखि २,५०० रुपैयाँसम्म कमाउँछन् ।
१८ वर्षको उमेरमा काठमाडौं छिरेका उनले पहिला एक महिना जति भारी बोक्ने काम गरे, त्यसपछि उनी रिक्सा चालक बनेको सम्झिन्छन् । आफूले रिक्सा चलाउन सुरु गरेको समयमा २ रुपैयाँ ५ मोहर रिक्सा साहुलाई बुझाउनु पर्थ्यो । कमाइको कुरा गर्दा सो समयमा ३ सुका, १ मोहर र ठाउँ हेरेर १ रुपैयाँसम्म पाएको उनलाई याद छ । उनको कामबाट खुसी भएर एक पर्यटकले उनलाई एक रिक्सा पनि किनीदिएका थिए । तर, कारणबस् उनले सो रिक्सा बेचिदिए ।
अहिले कमाइले हातमुख जोर्न पनि धौधौ भइरहेको उनी बताउँछन् । यद्यपि आफ्नो पेसाको मोहले उनलाई घर फर्किन भने दिएको छैन । उनी भन्छन्, “अहिले समय कटाउनलाई कुदाउदैछु, सक्नेबेलासम्म कुदाउँछु, नसक्ने भएपछि घर फिर्छु ।

पुस्ता हस्तान्तरण नहुँदा रिक्सा चालक घट्दै छन्
रिक्सा व्यवसाय समितिका उपाध्यक्ष राजेश मानन्धर काष्ठमण्डपमा पर्खिरहेका थिए । उनले मलाई चन्द्र शमशेरको पालादेखिको रिक्साको इतिहास मात्र बुझाएनन् अहिलेको रिक्साको अवस्था र आफूले गरिरहेको विभिन्न पहलबारे पनि जानकारी दिए ।
बग्गीको युग समाप्त गर्दै नेपालमा पहिलो साधनको रूपमा रिक्सा भित्रिएको हो । राणाकालीन समयमा पहिलो गाडी भित्र्याउने चन्द्र शमशेरले नै रिक्सा काठमाडौं भित्र्याएका हुन् । रिक्सा व्यवसाय, विभिन्न प्रशासनिक तह र यातायात कार्यालय हुँदै अहिले महानगरपालिकाको मातहतमा छ । ४६ सालपछि रिन्यु गर्ने, नामसारी गर्ने लगायतका रिक्सा सम्बन्धी सम्पूर्ण कामहरू महानगरपालिकाले हेर्दै आएको छ । रिक्साको ब्लुबुकमा अधिराज्यभरि चलाउन पाउने लेखिएता पनि मानवले चलाउने साधन भएकाले धेरै टाढासम्म लैजान सकिँदैन । त्यसैले रिक्सा प्राय जसो काठमाडौंको कोर एरियाभित्र कुद्ने गर्छन् । रिक्साको यात्रा गर्दा कला संस्कृतिको अवलोकन गर्न सजिलो हुने राजेश बताउँछन् ।
रिक्सा व्यवसाय समितिका उपाध्यक्ष राजेश मानन्धर, बायाँ
पुस्ता हस्तान्तरण नभएकाले रिक्सा चालकहरू घट्दै गएका छन् । एउटा चालकले नयाँ पीढीलाई आकर्षित गर्न या प्रेरित गर्न नखोजेकाले नै यो अवस्था आएको राजेश बताउँछन् । चालकलाई गरिने दुर्व्यवहार पनि यसको मुख्य कारण रहेको छ । ट्राफिक प्रहरीले चालकलाई गालीगलौज गर्ने मात्र होइन, मुर्छा हुने गरी कुट्ने पनि गरेका छन् । उनी भन्छन् “ट्राफिक प्रहरीले रिक्सा चालक गरिब, अशिक्षित, निम्न वर्गीय र दरिद्र हो भन्ने धारणा राखेको छ ।“ प्रशासनिक दुर्व्यवहारका कारण रिक्सा चालकहरू कम हुँदै गएका छन् ।
नेवारहरूले रिक्सा चलाउन छाडे
पहिला काठमाडौंकै स्थानीयहरूले रिक्सा चलाउने पेसा अँगालेका थिए । ४६ साल भन्दा अघिको इतिहास हेर्ने हो भने काठमाडौंका नेवार समुदाय विशेषगरि खड्गीहरूले रिक्सा चलाउने गरेको भेट्न सकिन्छ । त्यसपछि काठमाडौंमा रोजगारीको खोजीमा अन्य जिल्लाबाट मान्छेहरू आउन थालेपछि यहाँका स्थानीयले यो पेसा छोड्दै गए । अहिले विशेषगरि काभ्रेबाट चालकहरू आउने गरेको र विशेषगरि तामाङ समुदायले यो पेसा अँगालेको पाइन्छ । खेतीको समय सकिएपछि काठमाडौं वरपरका स्थानबाट मान्छेहरू रिक्सा चलाउन आउने गरेका छन् ।

चालकको कमीले ४७३ रिक्सामध्ये १५० मात्रै कुद्ने गरेका छन् । राजेश २००७ साल देखि ३६ सालसम्मको समयलाई रिक्साको स्वर्णिम युग मान्ने गर्छन् किनभने त्यतिबेला अन्य यातायातका साधनहरू उपलब्ध भइनसकेकाले रिक्सा नै मान्छेहरूको विकल्पमा पर्थ्यो । ४६ सालपछि भने अन्य सवारी साधनले रिक्साको व्यवसायलाई पछि पार्दै गए ।
रिक्सा चालकको जीवनमा आधारित चलचित्र ‘धुलो’ पनि बनेको उनले सुनाए । बुद्धि तामाङ, अग्रज केसी, सिर्जना सुब्बा आदि कलाकारहरूको अभिनय रहेको चलचित्र प्रधुम्न मिश्राको निर्देशनमा बनेको हो ।

राजेशले नेपालमा पहिलो पटक लाइसेन्स वितरण गर्ने बेलामा रिक्साको लागि पनि कोलम छुट्याइएको सुनाए । अहिले भने रिक्साको लागि लाइसेन्स लिनु पर्दैन । पहिला रिक्सा चालकलाई विभिन्न किसिमका प्रशिक्षण समेत दिइने गरिन्थ्यो ।
नेपाल बन्दको समयमा रिक्सा जहीँ जान पाउँछ, अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रवेश पाउँछ तर अन्य दिनमा भने विमानस्थल वरपर रोक्न समेत दिइँदैन । राजेश भन्छन् “अरू सवारी साधन नचलेको समयमा रिक्सालाई विशेष छुट दिइन्छ तर, अन्य दिन यो सवारी साधन नै होइन भनेझैँ व्यवहार गरिन्छ ।”
वातावरणमैत्री रिक्साले पार्किङ गर्ने ठाउँ पाउँदैन
अधिकांश रिक्साको पार्किङ पर्यटकीय सम्पदा भएकै ठाउँमा रहेको छ । ठुलो पार्किङ हनुमान ढोका, इन्द्र चोक, असन, ठैटि, ठमेल, क्षेत्रपार्टी, टेउडा रिक्साका मुख्य ७ पार्किङ रहेका छन् । यस बाहेक रिक्सा धोबीचौरमा (सदरमुकाम) पनि राखिएका हुन्छन् । कहिले काहीँ विभिन्न कारण देखाएर रिक्साको पार्किङ हटाउन खोजिन्छ तर, राजेशले बेलैमा आवाज उठाएका कारण त्यसो हुन् भने पाएको छैन ।
व्यावसायिक हिसाबले रिक्सा भित्रिएसँगै सो ठाउँमा पार्किङ हुने गरेको बताउँदै राजेश रिक्सा वातावरणमैत्री साधन रहेको बुझाउँछन् । रिक्साका लागि मुख्य चुनौती पार्किङ रहेको छ, जसको लागि लड्नुपर्ने हुन्छ । साथै फुटपाथ पसलले पनि रिक्सा कुदाउन समस्या हुने गरेको छ । खाल्डा खुल्डी भएका बाटा पनि रिक्साका लागि ठुलो समस्या रहेको छ ।

रिक्सा व्यवसायी तथा चालकका समस्याका लागि राजेश हरेक ठाउँ तथा निकायमा अघि बढेर आवाज उठाउने गर्छन् । तर, प्राय ठाउँबाट उनले पाउने भनेको आश्वासन मात्र हो । यद्यपि उनी रिक्सा व्यवसायी तथा चालकका हितका लागि अहोरात्र खटिन तयार छन्, खटिरहेका छन् ।
सर्वसाधारण र ट्राफिक प्रहरीको व्यवहार र रिक्सा चालकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने जरुरी छ । रिक्सा चालकले पनि आफ्नो स्वस्थ तथा सर-सफाइमा ध्यान दिने, रिक्सा चलाएको बेला मदिरा सेवन गर्नुहुँदैन । सरकारले विस्थापितको अवस्थामा पुगेको रिक्सा व्यवसायलाई प्रवर्धन गर्न कुनै कदम नचाले चाडै नै काठमाडौंमा रिक्सा देख्न नपाइने अवस्था आउन सक्नेछ ।







